सर्लाहीको लालबन्दी-९ मा रहेको आइडियल को-एड एकेडेमीमा श्रीपञ्चमी (वसन्त पञ्चमी) तथा सरस्वती पूजाको अवसरमा ‘आर्ट एन्ड साइन्स एक्जिबिसन’ आयोजित गरिएको छ।

विद्यालयका संस्थापक राजु पजियारका अनुसार आज बिहानदेखि प्री-प्राइमरी कक्षाका बालबालिकाले तयार पारेका ३० वटा स्टल प्रदर्शनीमा राखिएको थियो। कार्यक्रम संयोजक सोरि गुरुङका अनुसार करिब ४ हजार अभिभावक तथा छिमेकी विद्यालयका बालबालिकाले एक्जिबिसन अवलोकन गरेका छन्।

साइन्स एक्जिबिसनमा बालबालिकाले पाठ्यपुस्तकमा सिकेका कुरालाई व्यवहारिक रूपमा प्रस्तुत गरेका थिए। विशेष रूपमा विज्ञानसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिएको थियो। विद्यालयका शिक्षक सुलभ ढुंगेलका अनुसार बच्चाहरूले स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरी विभिन्न वैज्ञानिक मोडेल तथा कलात्मक चित्रहरू तयार पारेका थिए।

कार्यक्रम बिहान ९ बजे सुरु भई दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो। विद्यालयका संस्थापक पजियारका अनुसार यस प्रकारको गतिविधिले बालबालिकाको सिर्जनशीलता विकास गर्ने, अरूको कामबाट प्रेरणा लिने र कक्षामा सिकेका कुरालाई सहज रूपमा बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ।

बालबालिकाले कागज, बाँस, काठ, माटो, बालुवा तथा ढुंगा प्रयोग गरेर विभिन्न सिर्जनशील सामग्रीहरू निर्माण गरेका थिए। साथै, कलात्मक तस्बिरहरू समेत प्रदर्शन गरिएको विद्यालय प्रशासनले जानकारी गराएको छ।