सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उन्नत जातको उखु खेती गरेर राम्रो उत्पादन गर्ने किसानलाई सम्मान गरेको छ ।

उद्योगले आज हरिवन नगरपालिका–११, स्थित आफ्नै प्राङ्गणमा जिल्लाका विभिन्न ठाउँका ४७ जना उत्कृष्ट उखु कृषकलाई सम्मान गरेको हो । उन्नत जातको उखु खेतीमा उत्पादन परिमाण बढी हुँदा किसानलाई र चिनीको मात्रा (रिकोभरी) बढ्दा चिनी उद्योगलाई फाइदा हुने गरेको छ ।

उन्नत जातको उखु खेती गरेर नमूना बनिरहेका किसान छनौट गरी सम्मान गरिएको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुरप्रसाद नेपालले जानकारी दिए । उद्योगले ४७ जना किसानलाई सम्मान पत्र, भित्ते घडी र खादा प्रदान गरी सम्मान गरेको हो ।

उखु किसानलाई हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहा, उद्योगका मालिक राजेशबाबु केडियालगायत भएर सम्मान गरेका हुन् ।

उखु खेतीका लागि प्राविधिक सरसल्लाह, सीप र उखुको उन्नत जातको बीउ प्रदान गरेर सहयोग गरिरहेको उद्योगले पहिलो पटक यसरी सम्मान गर्दा उत्साह थपिएको हरिवन नगरपालिका–९, का किसान मदन थापाले बताए । उद्योग आफैले विभिन्न उन्नत जातको उखुको बीउ तयार पारेर किसानलाई प्रदान गर्ने गरेको छ ।

बरहथवा नगरपालिका–१५, सुुन्दरपुर चोहर्वाका किसान तीर्थराज मैनालीले प्राविधिक सरसल्लाह र उत्पादन राम्रो हुन थालेपछि आफूले छ बिघा खेतमा उन्नत जात (१४२०१) को उखुु लगाएको जानकारी दिए । इन्दुशंकरले उन्नत जात अन्तर्गत पर्ने १४२०१, १३२३५, १५०२३, २३८ र ११८ उखु उत्पादन गर्ने किसानलाई सरकारले तोकेको भन्दा १५ रुपियाँ बढी नै मुल्य दिएर खरिद गर्ने गरेको छ ।

किसानलाई उन्नत जातका यि उखु रोप्न र हरेक काममा कृषि यन्त्र प्रयोग गरेर लागत घटाउन निरन्तर सहयोग तथा परामर्श प्रदान गरिरहेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले बताए ।