सर्लाही चन्द्रनगर गाउँपालिकाले आफ्ना क्षेत्रका किसानहरूलाई राहत प्रदान गर्दै आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को कृषि विधुत मिटरको महसुल (रु. १३ लाख ७ हजार) नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गरिसकेको जनाएको छ।

गाउँपालिकाले किसानहरूलाई सिंचाइमा थप सुविधा प्रदान गर्न कृषि विधुतीकरण कार्यक्रमअन्तर्गत खेत-खेतमा सिंचाइ सुविधा विस्तार गर्ने निर्णय गरेको छ। साथै, किसानहरूले खेत सिंचाइका लागि जडान गरेका कृषि विद्युत मिटरको महसुल गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था मिलाएको छ, जसअनुसार किसानहरूले निःशुल्क सिंचाइ सेवा पाउनेछन्।

गाउँपालिका अध्यक्ष राजकुमार महतोका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि फाल्गुन २०८२ सम्मको कृषि विद्युत महसुल भुक्तानी गर्नका लागि किसानहरूले बिलसहित निवेदन पेश गर्नुपर्नेछ। यससम्बन्धी सूचना चैत्र २०८१ मा प्रकाशित गरिनेछ।

गाउँपालिकाको यो पहलले किसानहरूलाई आर्थिक रूपमा टेवा पुर्‍याउनुका साथै कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको विस्तार तथा सिंचाइ समस्याको समाधान गर्ने विश्वास गरिएको छ।