सर्लाही पर्सा गाउँपालिका-६ मङराहा पोखरीस्थित हुलाकी सडकखण्डमा चेकजाँचको क्रममा लागू औषध सहित दुई जना पक्राउ परेका छन्।

प्रहरी चौकी, पर्सा सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४२ प ४२७० नम्बरको मोटरसाइकलमा लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागू औषध बरामद गरेको हो। मोटरसाइकलबाट ONEREX-100 ML को १७० बोतल र RJE-SCEN-100 ML को २४ बोतल गरी कुल १९४ बोतल लागू औषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले लागू औषधसहित मोटरसाइकल चालक, सर्लाही लालबन्दी नगरपालिका-११ निवासी २६ वर्षीय मुकेश यादव र मोटरसाइकलमा पछाडि सवार १९ वर्षीय संजिव महतोलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, पक्राउ परेका दुवैजनालाई सम्मानित सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी गराइएको छ। प्रहरीले लागू औषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।