७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ लाई जिल्लाभर विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्ण रूपमा मनाइएको छ। जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको संयोजकत्वमा जिल्लास्तरीय मूल समारोह समिति गठन गरी दिवस भव्य रूपमा सम्पन्न गरिएको हो।

दिवसको अवसरमा प्रभातफेरी, झण्डोत्तोलन, मञ्च कार्यक्रम, रक्तदान तथा राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता जस्ता कार्यक्रम सम्पन्न भएका छन्।

मुख्य समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले फागुन ७ गतेलाई गौरवमय एवम् ऐतिहासिक दिनको रूपमा मनाउन सबैसँग आग्रह गरे। उनले जहानियाँ शासनविरुद्ध वीरगति प्राप्त गर्ने सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका महान व्यक्तित्वहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानले प्राप्त प्रजातन्त्रको रक्षा र सुदृढीकरणमा सबैले योगदान दिनुपर्नेमा जोड दिए।

समारोहमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।