७५औं प्रजातन्त्र दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाही, ईश्वरपुर नगरपालिका, आँखा उपचार केन्द्र ईश्वरपुर सर्लाही, नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर र इलाका प्रहरी कार्यालय केशरगन्ज सर्लाहीको संयुक्त सहकार्यमा सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि सवारी चालक तथा सह–चालकको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा १५३ जना चालक तथा सह–चालकको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आँखामा समस्या देखिएका ४३ जनालाई निःशुल्क चस्मा तथा १०० जनालाई निःशुल्क औषधि वितरण गरिएको आँखा उपचार केन्द्र ईश्वरपुरका प्रमुख चन्दन मणी रामले जानकारी दिए। परीक्षण गराइएकामध्ये केही स्थानीय नागरिक समेत रहेका छन्।

आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनालीका अनुसार सवारी चालक तथा सह–चालकको निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षणले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले भरतपुर आँखा अस्पतालसँग समन्वय गरी सञ्चालन भइरहेको आँखा उपचार केन्द्रमा सवारी चालक तथा सह–चालकको समेत आँखा परीक्षण गराउन पाएकोमा खुसी व्यक्त गरे।

शिविरमा नगरप्रमुख आचार्य, ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरे, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशी, ईश्वरपुर नगरपालिका–९ का वडाध्यक्ष नन्दलाल चौधरी, ईश्वरपुर नगरपालिका–१० का वडाध्यक्ष रास नारायण चौधरी, ईश्वरपुर नगरपालिका–११ का कार्यवाहक वडाध्यक्ष राम पुकार चौधरीलगायतको उपस्थिति रहेको थियो।