लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट संगठन तथा शुभेच्छुक संस्थाहरू सक्रिय रूपमा काम गर्न थालेका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरले संगठनहरूको प्रभारी तोकेसँगै ती संस्थाहरूले आफ्नो गतिशीलता बढाएका छन्।

यसै क्रममा, लोसपा निकट लोकतान्त्रिक युवा संघले बुधबार एक महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। संघले २०८२ सालभित्र ८२ हजार युवालाई संगठनमा आवद्ध गराउने लक्ष्य राखेको छ।

योजना निर्माणका लागि लोसपा नेपालका महासचिव तथा लोकतान्त्रिक युवा संघका प्रभारी मनिष मिश्र, संघका केन्द्रीय अध्यक्ष सुजन यादव, र केन्द्रीय सचिव शैलेन्द्र ठाकुर सम्मिलित छलफल सम्पन्न भएको थियो।

महासचिव मिश्रका अनुसार संघले आफ्नो नीति र सिद्धान्त अनुरूप काम गर्दै उक्त लक्ष्य हासिल गर्ने रणनीति तयार पार्नेछ। उनले भने, “कुनै पनि देशको युवा शक्ति राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो। पार्टीलाई अगाडि बढाउन युवाको भूमिका निर्णायक हुन्छ।”

केन्द्रीय अध्यक्ष सुजन यादवले पनि युवाको सक्रियता राजनीतिमा आवश्यक रहेको बताउँदै छिट्टै नै ८२ हजार युवा सदस्यता अभियान सुरु गरिने बताएका छन्।