सर्लाही सदरमुकाम मलंगवामा महिला अधिकारका लागि दबाब अभियान अन्तर्गत धर्ना कार्यक्रम जारी राखिएको छ ।


जिल्लाका महिला अधिकारकर्मी मलंगवाको सहीद चोकमा दुई दिनदेखि धर्नामा बसेका हुन् । धर्नामा बसेकाले बहु विवाह सहदैनौं, नारी शोषण बन्द गर, महिलाको संवैधानिक अधिकार सुनिश्चित गर, मेरो शरीर मेरो अधिकारलगायतको नारा लेखिएको पर्चा बोकेका छन् । सरकारले बहुविवाहलाई बढवा दिने गरी नयाँ कानून ल्याउन लागेको भन्दै महिला अधिकारकर्मी धर्नामा बसेका हुन् ।

महिला मानव अधिकार रक्षक सन्जाल सर्लाहीका अध्यक्ष रम्भा झाले महिलालाई थप पीडा हुने किसिमले कानून ल्याउन लागिएकाले त्यसलाई रोक्न देशव्यापी अभियान अन्तर्गत सर्लाहीमा पनि धर्ना कार्यक्रम जारी राखिएको जानकारी दिईन् ।

महिला अधिकारकर्मी र जिल्लामा महिला अधिकारको क्षेत्रमा काम गर्ने एक दर्जन बढी संघसंस्थाले केही दिनअघि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै महिलालाई थप विभेद हुने गरी कुनै प्रकारको कानून नल्याउन चेतावनी दिइसकेका छन् ।