नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले पदबाट राजिनामा दिएका छन् ।

उनले आज पार्टी केन्द्रीय सभपाति शेरबहादुर देउवालाई राजिनामा पत्र बुझाएका हुन् । आफूमाथि दायर भएको मुद्दामा अदालतले दिएको आदेशलाई स्वीकार गर्दै राजिनामा दिएको सिंहले उल्लेख पत्रमा उल्लेख गरेका छन् ।

सिंहलाई विशेष अदालतले तत्कालिन मनुस्मारा सिँचाई आयोजनाको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता मुद्दामा केही समयअघि दोषी ठहर गरेको थियो । विशेषको फैसला सदर गर्दै सवोच्च अदालतले समेत उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपियाँ बिगो भराउने फैसला गरेको थियो ।

सर्वोच्चको फैसलापछि पनि सिंहले कांग्रेस सर्लाहीको सभापतिको रुपमा कार्यभार सम्हाल्दै आएका थिए । सर्वोच्चको फैसलापछि समेत जिल्ला सभापति सिंंहले राजिनामा नदिएको भन्दै नेपाली कांग्रेस इतर पक्षका नेताहरु केन्द्रीय पार्टी कार्यालय सानेपामा पुगेर धर्नामा बसेका थिए ।

विरोध हुँदा पनि सभापति सिंह राजिनामा नदिने अडानमा थिए । अहिले भने केन्द्रको दबाब र जिल्लाकै पार्टीका नेताहरुले समेत बारम्बार राजिनामा माग गर्न नछाडेपछि सिंहले आज पार्टी सभापति देउवालाई भेटेरै राजिनामा बुझाएका हुन् ।

पार्टीभित्र संस्थापन पक्षका सिंहले सभापतिबाट राजिनामा दिए पनि कार्यवाहक जिल्ला सभापति तोक्न बाँकी रहेको छ ।

संस्थापन इतर पक्षका उपसभापति नवीन अधिकारीले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

संस्थापन पक्षबाट डा. सरोज कुमार पनि जिल्ला उपसभापति छन् । स्रोतका अनुसार संस्थापन पक्षले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी डा. सरोजलाई दिन केन्द्रीय कार्य समितिमा पहल गरिरहेको बुझिएको छ ।