सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताबजारमा आमा–छोरीलाई सोही गाउँका बुबा–छोराले निर्घात कुटपिट गरेका छन्।

स्थानीय ५० वर्षीया पानो देवी महतो र उनकी २६ वर्षीया छोरी उर्मिला देवीलाई शनिबार दिउँसो देवेन्द्र राय र उनका छोरा प्रविण रायले कुटपिट गरेका हुन्। पीडितका श्रीमान नथुनी महतोका अनुसार घटना क्रममा दुवै जना गम्भीर घाइते भएका छन्।

घाइते आमा–छोरीलाई ईश्वरपुर नगरपालिका बयलवासस्थित सिद्धिविनायक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अस्पतालका चिकित्सकका अनुसार दुवैको शरीरमा निलडाम परेको छ भने पानो देवीको हातमा गम्भीर चोट लागेको छ।

घटनापछि आरोपी बुबा–छोरा फरार रहेको र यस सम्बन्धमा इलाका प्रहरी कार्यालय केशरगंजमा निवेदन दिइएको पीडित पक्षले जनाएको छ।

नथुनी महतोका अनुसार, कुटपिट मात्र नभई आरोपीहरूले उनकी श्रीमती र छोरीलाई जबरजस्ती गर्ने धम्कीसमेत दिएका थिए। यस विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।