सर्लाहीको गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने मागसहित सोमबार सदरमुकाम मलंगवामा स्थानीयवासी, जनप्रतिनिधि तथा संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।

बलरा होइन, गोडैतामै कार्यालय स्थापना गर्नुपर्ने मागसहित पब्लिक मावि मलंगवा–२ बाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । प्रदर्शनका सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रशासनिक सेवा पाँचवटै पालिकाका जनताको सहज पहुँचमा पर्छ भन्ने तर्क राखेका छन् । त्यस क्रममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ ।

यसअघि गृहमन्त्री रमेश लेखक वीरगन्ज आएको अवसरमा पनि सर्वपक्षीय संघर्ष समितिले ध्यानाकर्षण पत्र बुझाइसकेको छ । मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा सो निर्णय अनुपयुक्त भएको भन्दै आपत्ति जनाइएको हो ।

गोडैता, विष्णु, बलरा, रामनगर र धनकौल गरी पाँचवटै पालिकाको केन्द्रभागमा पर्ने गोडैतामै कार्यालय स्थापना गर्नुपर्ने सर्वपक्षीय ध्यानाकर्षण पत्रमा उल्लेख छ । भारतसँग सीमा नजिक भएकाले सुरक्षाका दृष्टिले पनि गोडैता उपयुक्त हुने तर्क संघर्ष समितिको छ ।

सर्वपक्षीय ध्यानाकर्षण पत्रमा सर्लाही क्षेत्र नं. ४ ‘क’ का प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, क्षेत्र नं.४ ‘ख’ का प्रदेशसभा सदस्य फकिरा महतो, गोडैता नगरपालिकाकी कार्यवाहक मेयर अञ्जना कुशवाहा, विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल राय र धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साहलगायतका जनप्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

हाल जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने यी पालिकाका स्थानीयवासीहरू प्रशासनिक सेवा लिन सदरमुकाम मलंगवा धाउन बाध्य छन् ।