जेन-जी आन्दोलनको क्रममा सर्लाहीका विभिन्न स्थानमा रहेका एक दर्जनभन्दा बढी प्रहरी चौकी विस्थापित भएका छन्। आन्दोलनका नाममा भइरहेका अराजक गतिविधीका कारण सर्वसाधारणलाई सुरक्षा दिने प्रहरी चौकी र अस्थायी प्रहरी चौकीहरू खाली भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।

बुधबार दिउँसोसम्म कबिलासी, हरिपूर्वा, नारायणपुर, बहादुरपुर, संग्रामपुर, सोल्टी, राजघाट, हजरिया, कौडेना, मधुवनगोठ, फुलजोर, परवानीपुर, घारिबथानलगायत स्थानमा रहेका स्थायी तथा अस्थायी प्रहरी चौकी विस्थापित भइसकेका छन्।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नेपाली सेना कालिध्वज गण पाँचकुमारीका गणपति उमेश खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दलगायत सुरक्षा अधिकारीसमक्ष स्थानीयहरूले विस्थापित प्रहरी इकाई पुनःस्थापना गर्न माग गरेका छन्।

सुरक्षा चुनौती बढेपछि बुधबार बिहानदेखि नेपाली सेनाले सर्लाहीमा सुरक्षा सम्हालेको छ। कालिध्वज गणका गणपति प्रमुख सेनानी उमेश खड्काले अहिले सर्लाहीको अवस्था नियन्त्रणमा रहेको दाबी गरेका छन्।