जेनजी समूहको प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मंगलबार पशुपति आर्यघाटमा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए।

अन्त्येष्टिअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट शवयात्रा गरिएको थियो। आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामी अर्पण गरेका थिए।
आन्दोलनमा ज्यान गुमाएका सहिदमध्ये केहिको पशुपति आर्यघाटमा र केहिको आफ्नो जिल्लामा अन्त्येष्टिका लागि लैजाने तयारी छ । सरकारले भदौ २३ र २४ को जेनजी समूहको आन्दोलनमा मृत्यु भएकालाई राष्ट्रिय झन्डा ओढाइ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज मृतकहरूको अन्त्येष्टि गरिएको हो।

null

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने,उनीहरूको नाममा जेनजी स्मारक पार्क बनाउने,मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ। सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।