विराटनगरमा बेवारिसे अवस्थामा फेला परेको कारबाट प्रहरीले ५ सय ३८ किलोग्राम गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका–८ स्थित यादव चोकदेखि भातीगछ जाने सडकको साइडमा बिहीबार राति १०स्१५ बजेतिर प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार बेवारिसे अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा भित्र गाँजा लोड गरिएको थियो ।

गाँजा लोड गरिएको कार बेवारिसे अवस्थामा भेटिएको हो । प्रहरीलाई देखेपछि गाँजा लोड गरिएको कार छाडेर चालक फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले कारभित्र १५ वटा बोरामा प्याक गरेको अवस्थामा गाँजा फेला पारेको थियो ।

बोरामा रहेको गाँजा निकालेर तौल गर्दा ५ सय ३८ किलो भएको एसपी चिमरियाले बताए । फरार रहेका चालकसहित गाँजा ओसारपसारमा संलग्नको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।