झुम्का कारागार, सुनसरीबाट फरार रहेका कैदी बन्दी हकिम बैठालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज दिउँसो  विशेष सूचनाको आधारमा सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित आफ्नै घरबाट फरार कैदी नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका हकिम बैठा अन्दाजी  ५५ वर्ष सर्लाही पर्सा गाउँपालिका–५ निवासी जुम्राती बैठाका छोरा हुन्। उनी ज्यान जघन्य कसूर  मुद्दामा १२ वर्षको कैद सजाय पाई हालसम्म ८ वर्ष कैद भुक्तान गरिरहेका थिए।

भदौ २३/२४ गते भएको जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका बैठा आफ्नै घरमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पर्साबाट प्र.ब.ह. रामबिनाय ठाकुरको कमाण्डमा र तालुक जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट  प्रहरी निरिक्षक विशाल बहादुर बुढाथोकीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका बैठालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ।