सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदारको विभत्स हत्या भएको छ।

परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोर निवासी ४७ वर्षीय रामइश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घरबाट करिब ५०० मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउकोविहीन शव फेला परेको ईश्वरपुर–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि चौकीदार महतो त्यसतर्फ गएका थिए। दिउँसोसम्म घर नफर्किएपछि र मोबाइल फोनसमेत ‘स्वीच अफ’ देखिएपछि परिवार र छरछिमेकीले खोजी सुरु गरेका थिए। खोजीका क्रममा जंगलभित्र महतोको शव टाउको गिँडिएको अवस्थामा फेला परेको हो।

घटनास्थलमै पुगेका वडाध्यक्ष कार्कीले प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको जानकारी आफूले पाएको बताए। हाल साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

हत्या गरिएका महतोको टाउको भने अहिलेसम्म फेला परेको छैन। सर्लाही प्रहरीका सूचना अधिकारी तथा डीएसपी सरोज राईले आवश्यक अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि अस्पताल लैजाने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

घटनास्थलमा रहेका सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले एक्लै वन रक्षकको जिम्मेवारी सम्हाल्दै आएका महतोको हत्या अत्यन्तै निर्मम ढंगले गरिएको बताए।

वन चौकीदारको यस किसिमको विभत्स हत्यापछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।