सर्लाही सदरमुकाम मलंगवामा जिल्लाको मानव अधिकारको अवस्थाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार रक्षक संजाल सर्लाहीको समन्वयमा तथा मानव अधिकार आयोग मधेश प्रदेश को आयोजनामा कार्यक्रम बुधबार सर्लाहीका मानव अधिकारकर्मीहरूसँग छलफल गरेको हो।

जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा आयोगका मधेश प्रदेश प्रमुख बुधनारायण सहनीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले जिल्लाको समग्र मानव अधिकार अवस्था, जेनजी आन्दोलनपछिको अवस्था, धार्मिक सद्भावको स्थिति तथा निर्वाचनलगायत विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा आयोगको केन्द्रीय कार्यालयका अधिकृत इन्द्रजित सहनी, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्र, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवशंकर चौधरी, डा. अब्दुल रहिम मिकरानी, दलित अगुवा राजेश पासवान, उद्योग वाणिज्य संघ मलंगवाका सदस्य गणेश गुप्ता, इन्सेक जिल्ला अध्यक्ष बुधन साह, दिवानी घिमिरेलगायतको सहभागिता रहेको थियो।

अन्तरक्रियामा आयोगका प्रदेश प्रमुख सहनीले पछिल्लो समय मानव अधिकारको भूमिका घटना घटेपछि मात्र सीमित हुने प्रवृत्ति देखिएको उल्लेख गर्दै मानव अधिकार संरक्षणका लागि समाजका अन्य निकायहरूसँग समन्वय आवश्यक रहेको बताउनुभयो। साथै उहाँले मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएका धार्मिक द्वन्द्व तथा संवेदनशील विषयमा राज्य संयन्त्रसँग सहकार्य गरी आयोगले काम गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रमले जिल्लाको मानव अधिकार अवस्था सुदृढ बनाउन सरोकारवाला निकायबीच सहकार्य र संवादलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।