परिवार नियोजन स्थायी बन्ध्याकरण (मिनिल्याप र भ्यासेक्टोमी) सम्बन्धी अप्रेसन घुम्ती शिविरको उद्घाटन समारोह सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना, मलंगवा नगरपालिकाको सहकार्य तथा मेरी स्टोप्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा शुक्रबार बिहान प्रादेशिक अस्पताल मलंगवामा शिविरको उद्घाटन गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवलकिशोर झाको अध्यक्षता तथा मलंगवा नगरपालिका प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, प्रादेशिक अस्पतालका निमित्त प्रमुख डा. रामप्रकाश साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादव,मेरी स्टोप्सका डा सुरेश साक्य र परिक्षा श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले परिवार नियोजन सेवा सर्वत्र आवश्यक भए पनि पछिल्लो समय बजेट कटौतीका कारण कार्यक्रमहरू सीमित हुँदै गएको उल्लेख गर्नुभयो । यद्यपि, मलंगवा नगरपालिकाले आगामी दिनमा पनि परिवार नियोजन कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर झाले चालु आर्थिक वर्षमा मात्र जिल्लामा करिब ८ सय जनाले परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा लिइसकेको जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन हुने शिविरमा करिब १ सय ५० जनाले सेवा लिने अपेक्षा गरिएको र दक्ष तथा अनुभवी चिकित्सकद्वारा अप्रेसन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रमको सञ्चालन मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले गर्नुभएको थियो ।