राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) को केन्द्रीय कार्यालय, काठमाडौंस्थित बनस्थलीमा पछिल्लो समय देशका विभिन्न जिल्लाबाट पार्टी प्रवेश गर्नेहरूको उल्लेख्य भिड देखिन थालेको छ। यही क्रममा सर्लाही जिल्लाबाट पनि ठूलो संख्यामा युवाहरूले रा.स्व.पा.मा प्रवेश गरेका छन्।

हिजो बिहीबार रा.स्व.पा.को केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सर्लाहीको हरिपुर्वा नगरपालिकाबाट प्रदेश सभा क्षेत्र नं. २ (क) का स्वतन्त्र उम्मेदवारसमेत रहिसकेका डा. बिरेन्द्र प्रसाद अधिकारी लगायत विभिन्न पेशामा आबद्ध युवाहरूले विधिवत रूपमा पार्टी प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा सामाजिक अभियन्ता, चिकित्सक, इन्जिनियर तथा ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरू उल्लेख्य रूपमा सहभागी रहेका थिए। डा. बिरेन्द्र अधिकारीसँगै डा. रवि साह, राजिव यादव तथा सोही क्षेत्रका अन्य युवाहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आफ्नो विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेका छन्।

स्रोतका अनुसार आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट डा. बिरेन्द्र अधिकारी रा.स्व.पा.का सम्भावित उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ। युवामैत्री एजेन्डा, सुशासन र वैकल्पिक राजनीतिका कारण रा.स्व.पा.प्रति आकर्षण बढ्दै गएको सहभागीहरूको भनाइ छ।

सर्लाहीबाट भएको यो सामूहिक पार्टी प्रवेशलाई आगामी निर्वाचनको सन्दर्भमा रा.स्व.पा.का लागि महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।