सर्लाही । सगरमाथा आधारभूत आवासीय विद्यालय, मलंगवाको सहयोगमा बाल कल्याण समाज सर्लाहीले गोडैता नगरपालिका र बलरा नगरपालिका अन्तर्गतका गरीब, दलित तथा अभावग्रस्त बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेको छ।

तराई–मधेशका जिल्लाहरूमा विगत २७ दिनदेखि निरन्तर बढेको अत्यधिक शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ। यस शीतलहरको सबैभन्दा बढी असर गरीब, दलित तथा अभावग्रस्त बालबालिकामा परेको छ। बाल कल्याण समाजका अनुसार, मुख्य कारण उनीहरूसँग पर्याप्त न्यानो लुगाको अभाव हुनु हो।

यही अभावलाई मध्यनजर गर्दै बाल कल्याण समाजले प्रत्येक वर्षझैं यस वर्ष पनि विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट नगद तथा जिन्सी सहयोग संकलन गरी न्यानो लुगा वितरण अभियान सञ्चालन गरेको हो। सो क्रममा सगरमाथा आधारभूत आवासीय विद्यालयसँग सहयोगको अनुरोध गरिएकोमा विद्यालयले सकारात्मक सहयोग गरेको जनाइएको छ।

विद्यालयको सहयोगमा मलंगवा नगरपालिका वडा नं. ४ र ५ का १५ जना अभावग्रस्त बालबालिकाहरुलाई विद्यालय प्राङ्गणमा न्यानो लुगा वितरण गरिएको थियो। साथै, श्री राम जानकी आधारभूत विद्यालय, गोडैता–६ बगदहका ८ जना, श्री रुपा दास प्राथमिक विद्यालय, बलरा–९ नरहजगन्जका ४ जना, र श्री प्राथमिक विद्यालय, बलरा–११ छतौनाका ३ जना गरी जम्मा १५ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ।

न्यानो लुगा वितरण कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, पत्रकार तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कठिन शीतलहरको परिस्थितिमा सहयोग पु¥याएकोमा आयोजक बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम रायले आभार व्यक्त गर्नुभयो।