सर्लाही — शितलहर तथा अत्यधिक चिसोबाट जोगाउन चन्द्रनगर गाउँपालिकामा दलित तथा विपन्न महिलालाई फाइबर सिरक वितरण गरिएको छ। बिहीबार चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित किसानपुरमा आयोजित कार्यक्रममा २२४ जना महिलालाई फाइबर सिरक प्रदान गरिएको हो।

महिला सशक्तीकरण तथा उत्थानका लागि क्रियाशील संस्था टेवा नेपालको सहयोगमा उक्त फाइबर सिरक वितरण गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिएका छन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जय किशोर साह, वडा अध्यक्ष रमेश्वर महतो लगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले शितलहरको समयमा लक्षित वर्गलाई न्यानो सामग्री सहयोगले ठूलो राहत पुगेको प्रतिक्रिया दिएका छन्।