फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही निर्वाचन क्षेत्र नम्बर २ राजनीतिक रूपमा निकै तातिएको छ। जिल्लाकै प्रभावशाली निर्वाचन क्षेत्रका रूपमा चिनिने सर्लाही–२ मा यसपटक ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसले चुनावी प्रतिस्पर्धा झन् रोचक बनेको छ। यही भिडभाडबीच नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमार यादव मतदाताको ध्यान केन्द्रित गर्न सफल देखिएका छन्।

डा. सरोज कुमार यादव हालसालै नेपाली कांग्रेसमा आबद्ध भएका भए पनि उनी राजनीति र समाजसेवामा नयाँ नाम होइनन्। स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. यादवले सर्लाहीको समग्र विकास र राजनीतिक संस्कार परिवर्तन गर्ने संकल्पसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनका अनुसार अब पुरानै अनुहार र पुरानै शैलीको राजनीति परिवर्तन हुनुपर्ने समय आएको छ।

डा. यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। विशेषगरी सर्लाहीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, युवालाई स्वदेशमै रोजगारी सिर्जना, किसानमुखी नीति तथा समावेशी विकास आफ्नो प्राथमिकता रहने उनी बताउँछन्। “सर्लाही अब भाषणले होइन, कामले परिवर्तन चाहन्छ,” भन्दै उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

सर्लाही–२ यसअघि उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्म बनेका राजेन्द्र महतो र महेन्द्र राय यादवजस्ता चर्चित नेताहरूको प्रतिनिधित्व गरिसकेको क्षेत्र हो। यसपटक पनि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपाका नेता महेन्द्र राय यादव, जनमत पार्टीबाट इञ्जिनियर विपिन कापड, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविन महतो, जनता समाजवादी पार्टी नेपालबाट भारत चौधरीलगायत प्रभावशाली उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। यस्ता अनुभवी र चर्चित नेताहरूबीच डा. यादवलाई ‘नयाँ तर आशालाग्दो विकल्प’का रूपमा हेरिन थालिएको छ।

मतदाताहरू भने हरेक निर्वाचनमा दोहोरिँदै आएका पुराना अनुहार र अधुरा प्रतिबद्धताबाट केही दिक्क देखिन्छन्। यही कारण यसपटक सर्लाही–२ का मतदातामा नयाँ सोच, नयाँ नेतृत्व र परिणाममुखी राजनीतिप्रति अपेक्षा बढेको देखिन्छ। धेरै मतदाताले “अब फरक अनुहार आउनुपर्छ” भन्ने धारणा राख्न थालेका छन्, जसको फाइदा डा. सरोज कुमार यादवले लिन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका चारै निर्वाचन क्षेत्रमा बहस, छलफल र प्रचारप्रसार थप तीव्र हुँदै गएको छ। विशेषगरी सर्लाही–२ मा डा. सरोज कुमार यादवको उम्मेदवारीले पुरानो राजनीतिक समीकरणलाई चुनौती दिएको देखिन्छ। अबको चुनावी परिणामले सर्लाहीको राजनीतिक भविष्य कुन दिशातर्फ जाने हो भन्ने चासो बढ्दै गएको छ।