मलंगवा, सर्लाही — सर्लाहीको मलंगवा नगरपालिका–२ मा निर्माण गरिएको भव्य राधा–कृष्ण मन्दिरमा शनिबार विधिवत् पूजाअर्चना गरी मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ। स्थानीयवासी तथा जनप्रतिनिधिको उपस्थितिमा धार्मिक विधिअनुसार विशेष कार्यक्रम सम्पन्न भएको हो।

करिब एक दशकअघि स्थानीय जनसमुदायको आर्थिक सहयोग तथा श्रमदानबाट मन्दिर निर्माण कार्य सुरु गरिएको थियो। प्रारम्भिक चरणमा स्थानीयको सक्रिय सहभागिताबाट अघि बढेको निर्माण कार्यले पछि प्रदेश सरकारको सहयोग पाएपछि तीव्रता पाएको बताइएको छ। वडा अध्यक्ष धिरेन्द्र साहका अनुसार मन्दिर निर्माणका लागि प्रदेश सरकारबाट दुई चरणमा गरी करिब एक करोड रुपैयाँभन्दा बढी बजेट सहयोग प्राप्त भएको हो।

निर्माण कार्य सम्पन्न भए पनि प्राणप्रतिष्ठा हुन बाँकी रहेकाले स्थानीयको सल्लाहमा विशेष कार्यक्रम आयोजना गरिएको मन्दिर समितिले जनाएको छ। शनिबार आयोजित उक्त कार्यक्रमबीच मलंगवा नगरपालिकाका मेयर प्रत्याशी नागेश्वर राय यादवलगायत स्थानीयवासीको संयुक्त उपस्थितिमा रिवन काटेर मन्दिर उद्घाटन गरिएको हो।

कार्यक्रममा पूर्व मन्त्री एवं क्षेत्र नं. २ का उम्मेदवार महेन्द्र राय यादव, वडाप्रतिनिधि तथा स्थानीय भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो। मेयर प्रत्याशी नागेश्वर राय यादवले मन्दिर निर्माणको सुरुवातदेखि नै सहयोग गर्दै आएको उहाँका निकट एक व्यक्तिले बताएका छन्।

स्थानीयवासीले मन्दिर सञ्चालनमा आएसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि थप सक्रिय हुने विश्वास व्यक्त गरेका छन्।