राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र World Vision International Nepal (WVI Nepal) को आर्थिक सहयोग तथा पर्सा गाउँपालिकाको आयोजनामा ‘बालसमृद्धि र एकीकृत विकासका लागि हातेमाल’ परियोजना अन्तर्गत फेब्रुअरी महिनालाई लक्षित गरी आयोडीन महिना मनाइएको छ।

पर्सा गाउँपालिका–५ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा “नुन थोरै खाऔँ, तर सही मात्रामा आयोडीन भएको दुई बालबालिकाको चिन्ह भएको प्याकेट नुन मात्र प्रयोग गरौँ” भन्ने सन्देश प्रवाह गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक चेत नारायण बैठा र पर्सा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी जगदीश साहले आयोडीनयुक्त नुनको प्रयोग, आयोडीनको कमीबाट हुने समस्या तथा पोषणसम्बन्धी विषयमा विशेष सेसन सञ्चालन गरी सहभागीहरूलाई सचेतना प्रदान गरे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक, बालबालिका तथा पालिकाका विभिन्न शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो। विभिन्न सचेतनामूलक सेसनसहित सम्पन्न कार्यक्रममा कुल ९६ जना सहभागी भएका थिए।

सहभागीहरूले बालबालिकाको स्वास्थ्य र समग्र विकासका लागि आयोडीनयुक्त नुनको नियमित तथा सन्तुलित प्रयोग प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पालिकाका शाखा प्रमुख, विद्यालय प्रशासन तथा स्वास्थ्यकर्मीहरूद्वारा निरन्तर अनुगमनसमेत गरिएको सामुदायिक परिचालक नितिश सिंहले जानकारी दिए।

कार्यक्रमले समुदायस्तरमा आयोडीनको महत्वबारे सचेतना अभिवृद्धि गर्दै पोषण सुधार र बाल स्वास्थ्य प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।