सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ३, जब्दीलाई आगामी शुक्रबार एक विशेष समारोहका बीच ‘मर्यादित महिनावारी मैत्री वडा’ घोषणा गरिने भएको छ। वडाभित्र मर्यादित महिनावारीका लागि आवश्यक सम्पूर्ण सूचकहरू पूरा भएपछि यो ऐतिहासिक घोषणा गर्न लागिएको हो।

आयोजकका अनुसार जब्दी नेपालकै पहिलो मर्यादित महिनावारी मैत्री वडा बन्नेछ। लालबन्दी नगरपालिका, वडा कार्यालय, राधा पौडेल फाउण्डेशन र बाल संरक्षण संस्थाको संयुक्त सहकार्यमा यो अभियान सफल भएको हो।

जनचेतनामा ठूलो परिवर्तन

बुधबार लालबन्दीमा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले निरन्तरको सचेतनामूलक कार्यक्रमका कारण वडा घोषणाको चरणमा आइपुगेको जानकारी दिनुभयो। कार्यक्रममा सहभागीहरूले महिनावारीलाई प्राकृतिक प्रक्रियाका रूपमा आत्मसाथ गर्दै अब उप्रान्त महिनावारीकै आधारमा कुनै पनि प्रकारको भेदभाव वा छुवाछुत नगर्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

बदलिँदो सामाजिक परिवेश

अन्तरक्रियामा सहभागी बाल क्लब, महिला समूह, सञ्चारकर्मी, शिक्षक र स्वास्थ्यकर्मीहरूले समाजमा महिनावारीबारे रहेको संकुचित सोच बदलिँदै गएको बताए। पहिले महिनावारीबारे कुरा गर्न लजाउने समाजमा अहिले खुलेर छलफल हुन थालेको र फोहोर कपडाको सट्टा स्यानेटरी प्याडको प्रयोग गर्ने महिलाहरूको संख्यामा उल्लेख्य वृद्धि भएको उनीहरूको भनाइ थियो।

जनप्रतिनिधिहरूको ऐक्यवद्धता

कार्यक्रमकी प्रमुख अतिथि एवं मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले समाजमा अझै पनि व्याप्त रहेको महिनावारी बार्ने र छुइछिटो गर्ने कुप्रथालाई जरैदेखि उखेल्नुपर्नेमा जोड दिनुभयो। यस्तै, वडाध्यक्ष वुद्धदेव चौधरीले देशभरमै पहिलो मर्यादित महिनावारी मैत्री वडाको रूपमा आफ्नो वडालाई चिनाउन पाउँदा गौरव महसुस भएको बताउनुभयो।

मर्यादित महिनावारीलाई प्रोत्साहन गर्न बाल संरक्षण संस्थाले राधा पौडेल फाउण्डेशनसँग मिलेर लालबन्दीका ३, ९ र १० नम्बर वडामा विगत लामो समयदेखि नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।