चितवन -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला मुस्लिम क्लस्टर) पदका लागि असिम साह र बखतियार अलिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रधानमन्त्रीका सल्लाहकारका रूपमा कार्यरत असिम साह तथा मधेश प्रदेशमा रास्वपाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मधेश प्रदेश सल्लाहकार परिषद्का संयोजक बखतियार अलि प्रतिनिधिहरूमाझ चर्चित उम्मेदवारका रूपमा उभिएका छन्।

दुई दशकभन्दा लामो पत्रकारिता अनुभव बोकेका बखतियार अलिप्रति महाधिवेशन प्रतिनिधिहरूको आकर्षण बढ्दो रहेको बताइन्छ भने असिम साह पनि प्रभावशाली उम्मेदवारका रूपमा हेरिएका छन्। खुला मुस्लिम क्लस्टरतर्फ मुख्य प्रतिस्पर्धा यी दुई उम्मेदवारबीच केन्द्रित हुने अनुमान गरिएको छ।

विशेषगरी मुस्लिम क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका लागि सिफारिस भएका उम्मेदवारहरूमध्ये असिम साह र बखतियार अलिको नाम अग्रपंक्तिमा रहेकाले उक्त क्लस्टरको निर्वाचन झनै रोचक बन्ने देखिएको छ। दुवै उम्मेदवारको संगठनभित्रको प्रभाव, अनुभव र प्रतिनिधिहरूमाझ रहेको समर्थनका कारण चुनावी परिणामप्रति चासो बढेको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि प्रारम्भिक रूपमा ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार ३ सय ८४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

निर्वाचन समितिका अनुसार केन्द्रीय समितिको निर्वाचन आज राति ८:३० बजेदेखि सुरु हुनेछ। नयाँ नेतृत्व चयनका लागि हुने मतदानलाई लिएर महाधिवेशनस्थल भरतपुरमा चुनावी माहोल तातेको छ भने खुला मुस्लिम क्लस्टरतर्फ असिम साह र बखतियार अलिबीचको प्रतिस्पर्धा विशेष चासोका साथ हेरिएको छ।