सर्लाहीको कविलासी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। नगर प्रमुख ब्रह्मदेव रायको अध्यक्षता तथा स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपप्रमुख नीलम कर्ण, प्रमुख प्रशासकीय अधिकृत मनहरि बराल, स्वास्थ्य शाखा प्रमुख, वडा नं. १ देखि ९ सम्मका स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रायले खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेर कविलासी नगरपालिकाले जिल्लामै उदाहरणीय काम गरेको बताए। “नगरपालिकाले केही काम नगरेको भन्ने आवाज उठिरहेका बेला यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको छ,” उनले भने।

उपप्रमुख नीलम कर्णले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद व्यक्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि नवल किशोर झाले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबैको निरन्तर सहकार्य आवश्यक रहेको बताए।

स्वास्थ्य शाखा प्रमुख सञ्जय झाले सञ्चालन गरेको कार्यक्रममा खोप अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने पालिकाका स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।