राष्ट्रिय अन्तरधार्मिक सञ्जाल नेपाल (NIRN Nepal) को आयोजनामा धार्मिक अगुवा तथा महिला अन्तरधार्मिक समूहका सदस्यहरूका लागि अन्तरधार्मिक संवादद्वारा लैङ्गिक हिंसा अन्त्य (EWV) सम्बन्धी तीनदिने अभिमुखीकरण तालिम बुधबारदेखि सुरु भएको छ। कार्यक्रम जुलाई ८ देखि १०, २०२६ सम्म सञ्चालन हुनेछ।

मलंगवास्थित होटल सुजाता र लालबन्दीमा आयोजित तालिममा पर्सा गाउँपालिकासहित हरिपुर्वा नगरपालिका, हरिपुर नगरपालिका, चन्द्रनगर गाउँपालिका तथा ईश्वरपुर नगरपालिकाका हिन्दु, इस्लाम र इसाई धर्मका धार्मिक अगुवा तथा महिला प्रतिनिधिहरूको सहभागिता रहेको छ।

आयोजक समिति सर्लाहीका सचिव तिलक कुमार क्षेत्रीका अनुसार तालिममा लैङ्गिक हिंसा न्यूनीकरण, सामाजिक सचेतना अभिवृद्धि, अन्तरधार्मिक सहकार्य तथा समुदायमा सकारात्मक व्यवहार परिवर्तनका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रम RRPK तथा World Vision को सहकार्यमा सञ्चालन भइरहेको छ। धार्मिक अगुवाहरूको सक्रिय सहभागितामार्फत समुदायमा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र हिंसा न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिमको सहजीकरण तिलक कुमार क्षेत्री र उमेश नन्दनले गरिरहेका छन्। कार्यक्रममा राष्ट्रिय अन्तरधार्मिक सञ्जाल नेपालका जिल्ला अध्यक्ष डा. अब्दुल रहिम मिकरानी र लक्ष्मी सुनुवार पासवानले विभिन्न विषयमा प्रस्तुतीकरण दिएका छन्।

कार्यक्रम अधिकृत आशिष चौधरीका अनुसार सहभागी धार्मिक अगुवाहरूलाई ‘सबल दृष्टिकोण’ तथा समुदायमा लैङ्गिक समानता, सामाजिक सद्भाव र हिंसामुक्त वातावरण निर्माणमा धार्मिक नेतृत्वको भूमिकाबारे जानकारी गराइएको छ।