भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा पीडित भएकाहरुका लागि सर्लाहीमा राहत सङ्कलन कार्य आजसम्म पनि जारी नै रहेको छ ।

व्यक्ति तथा सङ्घसंस्थाले सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगदसमेत जम्मा गरिरहेका छन् भने खाद्यान्न, खानेपानी र कपडा पनि तीव्र रुपमा सङ्कलन भइरहेको हो । पहाडी जिल्लामा भएको उक्त घटनाका पीडितका लागि मधेशको जिल्ला सर्लाहीका दर्जनौँ स्थानबाट स्वतस्फूर्तरुपमा राहत सङ्कलन तथा नगद जम्मा गर्नेक्रम चलिरहेको हो ।

सोहीक्रममा सर्लाहीको बागमती नगरपालिका–५, राजघाट बिहानी चोकमा रेडक्रस मुठ्ठी समूहले बाढी पीडितका लागि एक लाख १११ रुपियाँ सहयोग गरेको छ । मानवीय सेवाको भावनासहित सङ्कलन गरिएको उक्त रकम सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको स्थानीय दीपेन्द्र मैनालीले जानकारी दिए ।

भोटेकोशी बाढी पीडितका लागि हरिवनमा केन्द्रीय कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्था र संस्थामा कार्यरत कर्मचारीले पनि दुई लाख ५० हजार बढी सहयोग गरेका छन् । संस्थाका अध्यक्ष केशवप्रसाद ढकाल र प्रवन्धक रविन्द्र रानाले सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट दुई लाख २२ हजार २२२ रुपियाँ र कर्मचारीहरुको तर्फबाट ३१ हजार रुपियाँ गरी दुई लाख ५३ हजार २२२ रुपियाँ जम्मा गरिएको जानकारी गराएका छन् ।

त्यस्तै शिवशक्ति बचत तथा ऋण सहकारी संस्था हरिपुर–२ ले भोटेकोशी बाढी पीडितका लागि ५० हजार रुपियाँ सहयोग गरेको संस्थाका सल्लाहकार विष्णु चालिसेले जानकारी दिए ।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजारमा रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाले संस्थाको सामाजिक उत्तरदायित्व कोष र कर्मचारीको एक दिनको पारिश्रमिकसमेत गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख पाँच हजार रुपियाँ सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साहले बताए ।भदौ १० गतेको भीषण भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटसहितका जिल्लामा ठुलो जनधनको क्षति भएसँगै सर्लाहीमा अहिले महिला समूह, सञ्जाल र सहकारी संस्थाले तीज विशेष तथा दरखाने कार्यक्रम स्थगित गरी सो रकम बाढी पीडितलाई सहयोग गरिरहेका छन् ।

बाढी पीडितका लागि सर्लाहीको मुख्य व्यापारिक केन्द्र लालबन्दी बजारमा विगत ३ दिनदेखि राहत सङ्कलन कार्य भइरहेको छ । मुख्य बजारमा बसेर खाद्यान्न, कपडा, ओढ्ने–ओछ्याउने, त्रिपाल, भाँडालगायतका सामग्री सङ्कलन गरिरहेको अभियानका नेतृत्वकर्ता एवं नेपाली कांग्रेसका नेता सीताराम दाहालले दिए ।

लालबन्दीमा अपेक्षाभन्दा पनि बढी मात्रामा राहत संकलन भइरहेको नेकपा एमालेका नेता विक्रम भण्डारीले बताए ।

बाढी पीडितका लागि सदरमुकाम मलङ्गवा, बयलवास, बरहथवासहितका ठाउँहरुमा पनि राहत सङ्कलन भइरहेका छन् । सदरमुकाम मलङ्गवामा तीन दिन लगाएर सङ्कलन गरिएको राहत सामग्री लिएर सर्लाही २ का प्रतिनिधि सभा सदस्य रवीन महतोसहितको टोली सोमबार बाढी प्रभावित क्षेत्रमा पुगेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मलङ्गवामा दोस्रो लटको राहत सङ्कलन कार्य जारी रहेको जानकारी दिए ।

बरहथवा नगरपालिकाका जनप्रतिनिधिले आफूहरुको सेवासुविधा बापतको १५ दिनको रकम भोटेकोशी बाढी पीडितका लागि प्रदान गर्ने भएका छन् । आज बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिईन् ।

लायन्स क्लब लालबन्दी सिटीले पनि बाढी पीडितका लागि एक लाख ३० हजार रुपैयाँ सहयोग गरेको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले जानकारी दिए ।

त्यसैगरी जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० (साइपाल) सेक्सनका विद्यार्थीले खाजाको रकम जोगाएर बाढी पीडितलाई सहयोग गरेका छन् ।

विद्यार्थी प्रिया ठाकुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विद्यार्थीहरु भएर खाजाको पैसाबाट पाँच हजार ७१५ रुपियाँ जम्मा गरेको जानकारी दिईन् । विद्यार्थीहरु आफै राष्ट्रिय वाणिज्य बैङ्कको लालबन्दी शाखामा पुगेर रकम जम्मा गरेका हुन् ।

बागमती नगरपालिका–२, धरहरामा रहेको जन बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीले पनि खाजाको रकम जोगाएर बाढी पीडितका लागि १८ हजार ४५० रुपियाँ प्रदान गरेका छन् ।

यस्तै लालबन्दी थोक तरकारी बजारका व्यापारीहरु मिलेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ७० हजार रुपियाँ सहयोग गरिएको बजारका पूर्व अध्यक्ष एवं व्यापारी तोरनबहादुर मगरले जानकारी दिए ।