धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनौजी गाउँपालिका–२ स्थित गौरदाहा–देउरीभित्री सडकखण्डबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भारत बिहारको मधुवनी जिल्ला, ग्राम खैनाका अन्दाजी ३५ वर्षीय राधाकान्त बयाग्रे पक्राउ परेका छन्

प्रहरीका अनुसार २०८३ साल भदौ ३१ गते दिउँसो करिब पौने चार बजे प्रहरी चौकी धनौजी (ख) बाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको गस्ती टोलीले भारततर्फबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा बयाग्रेको साथबाट स्रोत नखुलेको नेपाली नगद १३ लाख ६५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । प्रहरीका अनुसार उक्त रकम कपडाको पेटीभित्र लुकाईछिपाई कम्मरमा बाँधेर राखिएको अवस्थामा बरामद गरिएको हो । ठूलो परिमाणमा नगद बोकेर सीमावर्ती क्षेत्रबाट आवतजावत गरिरहेको र गतिविधि शंकास्पद देखिएपछि मोटरसाइकल रोकेर खानतलासी गर्दा रकम फेला परेको प्रवक्ता खनालले बताए ।

बरामद रकमको स्रोत, रकम कहाँबाट प्राप्त भएको हो, कहाँ लैजान लागिएको थियो तथा उक्त रकमसँग अन्य व्यक्ति वा कारोबारको सम्बन्ध छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । धनुषा प्रहरीले बयाग्रेमाथि स्रोत नखुलेको रकम तथा वित्तीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । घटनाका सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी दिए । नेपाल–भारत खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा नेपाली तथा भारतीय नागरिकको नियमित आवतजावत हुने गरेको छ ।

व्यापार तथा अन्य व्यावसायिक प्रयोजनका लागि दुवै देशका नागरिक सीमावर्ती क्षेत्रमा लामो समयदेखि आवतजावत गर्दै आएका छन् । सीमावर्ती क्षेत्रमा व्यवसाय गर्ने केही नेपाली व्यवसायीले भारतमा व्यापारबाट आर्जन गरेको रकम नेपाल ल्याउँदा समेत स्रोत र कारोबारको वैधतासम्बन्धी प्रश्न उठ्ने गरेको व्यवसायीहरूको गुनासो छ । एक व्यवसायीका अनुसार खुला सीमाको फाइदा उठाउँदै हुण्डीलगायत अवैध वित्तीय कारोबारमा संलग्न समूहले समेत गोप्य रूपमा रकम ओसारपसार गर्ने गरेका छन् । तर अवैध रकमको ओसार पसार नियन्त्रण गर्ने क्रममा लामो समयदेखि सीमावर्ती क्षेत्रमा वैध व्यवसाय गर्दै आएका व्यवसायीसमेत अनावश्यक झमेलामा पर्ने गरेको व्यवसायीहरूको गुनासो छ ।

उनीहरूले वैध व्यापारिक कारोबार र अवैध वित्तीय कारोबारबीच स्पष्ट फरक छुट्याएर अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । यसैबीच, सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा नगद रकमको ओसारपसार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले चेकजाँच तथा गस्तीलाई निरन्तरता दिएको जनाएको छ ।