सर्लाहीको गोडैता नगरपालिका–२, जयपुरस्थित जनता आधारभूत विद्यालयमा उत्पन्न विवाद तत्काललाई साम्य भएको छ ।

विद्यालयका प्रधानाध्यापक गर्भु महतोको कार्यशैलीप्रति असन्तुुष्टि जनाउँदै अभिभावकहरुले वडाध्यक्ष अजय प्रसाद साहको नेतृत्वमा पुस ३ गतेदेखि प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका थिए । प्रधानाध्यापक महतोको कार्यकक्षमा अभिभावकले लगाएको ताला आज खोलिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रतिनिधि सुनिल कुशवाहको उपस्थितिमा विद्यालयमा आयोजित अभिभावकसहित अन्य सरोकारवालाको भेलाबाट प्रधानाध्यापकको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्ने र पुस १९ गते प्रधानाध्यापकसहितको उपस्थितिमा फेरि अर्को बृहत अभिभावक भेला गर्ने निर्णय गर्दै विद्यालयमा उत्पन्न विवादलाई तत्काल साम्य पारिएको हो ।

आजको भेलामा प्रधानाध्यापक महतो भने उपस्थित भएनन् । १९ गतेको बैठकमा प्रधानाध्यापक महतोले आफू सच्चिएर अघि बढ्ने प्रतिवद्धता गर्ने र यदि कार्यशैली नबद्ले विद्यालयबाट अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउने सहमती गराई असन्तुुष्ट अभिभावकलाई सम्झाउने काम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ ।

ताला खोलिएसँगै प्रअ महतोले भोलीदेखि विद्यालयमा आएर काम गर्न सक्ने सहमती समेत भएको छ ।

छलफलमा शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रतिनिधि सुनिल कुशवाह, इकाइकै फनिन्द्र साह, वडाध्यक्ष अजय प्रसाद साह, निवर्तमान वडाध्यक्ष भोला महतो, गोडैता नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रमोद यादवलगायतको उपस्थिति रहेको थियो ।