लालबन्दी–१२, स्याङ्वाडाँडा, पत्थरकोटस्थित शेष महलमा भगवान् सङ्कर्षणको विग्रह प्राण प्रतिष्ठा गरिएको छ। तीन दिनको धार्मिक समारोहको बीचमा आज सङ्कर्षणको विग्रह प्राण प्रतिष्ठा गरियो।

हरेराम सङ्कीर्तन कुञ्जल स्याङ्वाडाँडा, पत्थरकोटमा माघ २१ देखि सुरु भएको वैदिक परम्परा अनुसारको कार्यक्रममा भगवान् सङ्कर्षणको विग्रह प्रतिष्ठा गरियो। यस अवसरमा ५,००० भन्दा बढी भक्तजनहरू सहभागी भए। कार्यक्रम दौरान सङ्कर्षण यज्ञ, श्रीमद्भागवत एकाह पारायण लगायतका धार्मिक अनुष्ठान आयोजना गरिएका छन्।

धार्मिक मान्यताअनुसार चार युगका उपासना पद्धतिहरू– सत्ययुगमा तपस्या, त्रेतायुगमा यज्ञ, द्वापरयुगमा पूजा, र कलियुगमा हरिनाम सङ्कीर्तन– अनुसार भगवान् सङ्कर्षणको विग्रह प्रतिष्ठा गरिन्छ। शेष महलमा भगवान् सङ्कर्षणसँगै गनेश, सरस्वती, नाँग, हनुमान तथा कबिप्रसाद गौतम र जेज्ती प्रसाद गौतम लगायतका विग्रहहरू स्थापना गरिएको छ।

समारोहमा विशेष उपस्थितिमा काठमाडौंका श्री जानकी कुञ्जबाट अनन्तप्रसाद गौतम र अजितप्रसाद गौतम गुरुहरू, काभ्रेका अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डलका पण्डितहरू सहभागी भएका छन्। जयपुर, भारतका कलाकारद्वारा सिंहमरमरमा कुँदिएको यो विग्रह विश्वमै पहिलो भएको र निर्माणमा लगभग १ करोड रुपैयाँको लागत लागेको जनाइएको छ।

शेष महल ३५ फिट अग्लो तालध्वज रथको अवधारणामा १४ स्तम्भहरूको आधारमा निर्माण गरिएको हो। निर्माणमा गुरु श्रीकविप्रसाद गौतमका भतिजा श्रीमुरारिप्रसाद गौतमको अग्रसरता थियो।

मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किसोर राय, प्रदेश सभा सदस्य बेच्ची लुुङ्कगेली, पूर्व राज्य मन्त्री शंभु लाल श्रेष्ठ, र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कार्यक्रमलाई सम्बोधन गरेका छन्। आयोजकले स्याङ्वाडाँडालाई दीर्घकालमा धार्मिक पर्यटनको केन्द्र बनाउने योजना बनाएका छन्।