आफ्नो भवन नहुँदा भाडाको घरबाट संचालित गोडैता नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम पूरा हुने चरणमा पुुगेको छ ।

गोडैता नगरपालिका–८, स्थित गोडैता बजारमा प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुुगेको मेयर देवेन्द्रकुमार यादवले बताएका छन् । नगरपालिकाको सुविधा सम्पन्न ३ तले भवन निर्माणको काम अन्तिम चरणमा पुुगेको हो ।

मेयर यादवले असारमा भाडाको घरबाट आफ्नै भवनमा सर्ने योजना बनाइरहेको सुनाए । मेयर यादवले भने–“फिनिसिङको काम सकेर असारसम्ममा सर्ने योजना बनाइरहेका छौँ ।” पहिलो कार्यकालमै प्रशासनिक भवन निर्माण गर्ने तयारी भएपनि जग्गा प्राप्तीमा अनेक उल्झन आएकाले नसकिएको उनको भनाई छ ।

गोडैता नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि २०७९ साल चैत ३० गते पार्वती–अरविन्द जेभी नेपालगञ्ज, बाँकेसँग ६ करोड ३२ लाख ५६ हजार ७२५ रुपैयाँ १० पैसामा ठेक्का सम्झौता भएको नगरपालिकाको योजना शाखा प्रमुख सुरेन्द्र पटेलले बताए ।

गोडैता नगरपालिकाको कार्यालय अहिले भाडाको साँघुरो भवन छ । प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले साँघुरो कोठाबाट सेवा दिन गाह्रो परिरहेको बताए ।

आफ्नै प्रशासनिक भवन बनेपछि सेवा प्रवाहमा सहजता आउने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । उनले भने–“भवन तयार हुने बित्तिकै सेवाप्रवाहका लागि जनप्रतिनिधि र कर्मचारी तथा सेवा लिने सेवाग्राहीलाई सहज हुने अवस्था रहेको छ।”

सर्लाहीमा गोडैता जस्तै हरिपूर्वा नगरपालिका र बसबरिया गाउँपालिका पनि भाडाको घरबाट संचालनमा रहेका छन् ।