साहु समुदायमाथि भइरहेका निरन्तर आक्रमणको विरोध गर्दै साहु पीडित संघर्ष समिति, सर्लाहीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तुलसी बहादुर श्रेष्ठ र प्रहरी उपरीक्षकलाई ज्ञापनपत्र बुझाएको छ। समितिका सदस्यहरूले सोमबार प्रशासनलाई भेटी दोषीमाथि कडा कानूनी कारबाहीको माग गरेका हुन्।

समितिले बुझाएको ज्ञापनपत्रअनुसार, सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुर निवासी रामबाबु राय यादवलाई २०८१ माघ २३ गते जिल्ला अदालतमा तारेख लिन गएका बेला अराजक समूहले घेराबन्दी गरी कुटपिट गरेको बताइएको छ। समितिले साहु समुदायमाथि भइरहेको यस्ता घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुरक्षाको माग गरेको छ।

समितिले विगत दुई वर्षदेखि साहु समुदायलाई लक्षित गरी संगठित अपराधी समूहहरूले कुटपिट, ठगी, गुण्डागर्दी, दलाली, र बेइमानीपूर्ण गतिविधि गरिरहेको आरोप लगाएको छ। साथै, जिल्ला अदालत नजिकै “ऋणी संघर्ष समिति” को नाममा गैरकानुनी रूपमा सञ्चालित कार्यालयबारे पनि चासो व्यक्त गर्दै सो कार्यालय तत्काल बन्द गर्नुपर्ने माग गरेको छ। समितिले उक्त कार्यालय न सरकारी स्वीकृत प्राप्त रहेको न कानूनी रूपमा दर्ता गरिएको भन्दै यसको अस्तित्व नै गैरकानुनी भएको दाबी गरेको छ।

ज्ञापनपत्रमा दोषी पहिचान गरी कारबाही गर्न, साहु समुदायको सुरक्षाको प्रत्याभूति गर्न, र गैरकानुनी रूपमा सञ्चालनमा रहेका कार्यालय बन्द गर्न प्रशासनसँग माग गरिएको छ। साथै, यदि प्रशासनले तत्काल कदम नचाले संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्ने र जस्तालाई त्यस्तै प्रतिकार गर्ने चेतावनीसमेत दिएको छ। समितिले यस्तो परिस्थितिको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने स्पष्ट पारेको छ।