मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा “आधारभूत भाषिक तथा गणितीय सिप सम्बन्धी एक दिने सम्मेलन” जनकपुरधामस्थित होटल मिथिला यात्री निवासमा सम्पन्न भएको छ।

उक्त सम्मेलनमा मधेश प्रदेशका उच्चपदस्थ अधिकारीहरू, स्थानीय सरकारका प्रतिनिधिहरू, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारीहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा निमित्त प्रदेश सचिव श्री दिलिप कुमार ठाकुरको अध्यक्षतामा माननीय मन्त्री रानी कुमारी तिवारी प्रमुख अतिथि रहनुभएको थियो। सम्मेलनमा *National Assessment for Reading and Numeracy (NARN)* तथा *National Assessment of Student Achievement (NASA)* अध्ययनको परिणाम, आधारभूत भाषिक तथा गणितीय सिपको महत्त्व तथा त्यससँग सम्बन्धित कक्षाकोठा, समुदाय, नीति र प्रणालीमा आधारित अभ्यासहरू प्रस्तुत गरिएका थिए।
सम्मेलनका प्रमुख प्रस्तुतिहरू सम्मेलनमा विभिन्न गैरसरकारी संस्थाहरूले आफ्ना अनुभव तथा अभ्यासहरू प्रस्तुत गरेका थिए:

स्ट्रीट चाइल्ड अफ नेपाल (Street Child of Nepal – SCoN)
यस संस्थाले “बिल्ड द बेसिक्स (Build the Basics – BtB)” परियोजनाको माध्यमबाट कक्षाकोठामा अवलम्बन गरिएको सिकाइ स्तरमा आधारित शिक्षण (Teaching at the Right Level – TaRL) पद्दतिको अनुभव प्रस्तुत गर्‍यो। अपाङ्गता भएका बालबालिकाहरूका लागि गरिएको अनुकूलन अभ्यास, बालमैत्री सिकाइ वातावरण तथा सरकारको पुन: प्राप्ति तथा द्रुत सिकाइ योजना (Recovery and Accelerated Learning – ReAL) अन्तर्गतको सहकार्यबारे जानकारी गराइएको थियो। हाल SCoN ले कर्णाली र मधेश प्रदेशका ६०० सामुदायिक विद्यालयहरूमा ३६,००० भन्दा बढी विद्यार्थी र १,८०० शिक्षकलाई लक्षित गर्दै BtB परियोजना कार्यान्वयन गरिरहेको छ।

सेभ द चिल्ड्रेन (Save the Children)
यस संस्थाले “समृद्धि परियोजना (Sammunati Project)” अन्तर्गतको आधारभूत सिकाइ सुधार सम्बन्धी अभ्यासको प्रस्तुति गर्‍यो।

प्लान इन्टरनेशनल नेपाल (Plan International Nepal)
यसले “समायोजन कक्षा तथा द्रुत सिकाइ कार्यक्रम (Remedial Classes and Accelerated Learning Program)” अन्तर्गतको कार्यान्वयन तथा अनुभव प्रस्तुत गर्‍यो।

* *वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (World Vision International Nepal)*:
यस संस्थाले “सिकाइ परियोजना (Sikai Project)” अन्तर्गत विद्यालय तथा समुदायको सहकार्यमा समावेशी तथा गुणस्तरीय शिक्षाका लागि गरिएका अभ्यासहरू प्रस्तुत गर्‍यो।

अध्ययन प्रतिवेदनको निष्कर्ष

सन् २०२० मा गरिएको NARN अध्ययन अनुसार कक्षा ३ का ८.४१ प्रतिशत विद्यार्थीहरूले मात्र कक्षा अनुसारको तहगत सक्षमता हासिल गरेका थिए भने १०.२ प्रतिशतले एउटा शब्द पनि शुद्धसँग पढ्न सकेका थिएनन्। त्यस्तै, कक्षा ८ (सन् २०२०) र कक्षा १० (सन् २०१९) मा गरिएको NASA अध्ययन अनुसार गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयहरूमा अधिकांश विद्यार्थीले पाठ्यक्रमले निर्धारण गरेको ५० प्रतिशतभन्दा कम सिकाइ उपलब्धि हासिल गरेको देखिन्छ।

यी प्रतिवेदनहरूले सिकाइको कमजोर अवस्था मात्र होइन, विद्यार्थीको विद्यालय निरन्तरता, रोजगारीको सम्भावना, तथा दीर्घकालीन गरिबी र जोखिमको चक्रलाई समेत उजागर गर्दछन्।

प्यानल छलफल

कार्यक्रम अन्तर्गत आयोजना गरिएको प्यानल छलफलमा विभिन्न स्थानीय सरकारका प्रमुख, शिक्षा शाखा प्रमुख तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले **शैक्षिक गुणस्तर सुधारमा भाषिक तथा गणितीय सिपको भूमिका आधारभूत सिकाइका विद्यमान समस्या नीतिगत समाधान, तथा स्रोतहरूको व्यवस्थापन र प्रभावकारी प्रयोग बारे आफ्ना धारणा व्यक्त गरे।

सम्मेलन समापन

सम्मेलनको समापन मन्तव्यमा शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव श्री दिलिप कुमार ठाकुरले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्मेलनबाट प्राप्त सुझाव तथा छलफलका निष्कर्षहरूलाई **आगामी शैक्षिक योजना तथा गतिविधिमा प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्मेलनले आधारभूत शिक्षामा दीर्घकालीन र प्रणालीगत सुधारमा सहयोग पुर्‍याउने दिगो विकास लक्ष्य ४ (SDG ४)प्राप्त गर्ने उद्देश्यमा टेवा पुर्‍याउने तथा प्रदेश तथा स्थानीय तहमा गुणस्तरीय आधारभूत शिक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।