नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत जलेश्वर नगरपालिका–२ मा निर्माण हुन लागेको क्रीकेट एकेडेमीका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त एकेडेमीको निर्माणस्थलमा बिहीबार स्थलगत निरीक्षण गरिएको छ।

निरीक्षण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष माननीय महन्त ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी, प्रदेश सांसद जैनुल राईन, नेपाल–भारत मैत्री समाज मधेश प्रदेश अध्यक्ष लव राजा सिंह, जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारलगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

जिल्ला क्रीकेट संघ महोत्तरीका अध्यक्ष तथा नेपाल क्रीकेट संघ (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंहले तोकिएको जग्गा निरीक्षण गराउनु भएको थियो। निरीक्षणपछि सहभागी सबै माननीय तथा पदाधिकारीहरूले एकेडेमी निर्माण कार्यलाई शीघ्र अघि बढाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस एकेडेमीको निर्माणले मधेशमा क्रिकेटको पूर्वाधार सुदृढ गर्दै स्थानीय स्तरमा खेलाडी उत्पादन र खेल विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।