लामो समयसम्म अवरुद्ध रहेको मलंगवा वितरण केन्द्रअन्तर्गतको विद्युत सेवा करिब १४ घण्टा पछि सुचारु भएको छ।

शुक्रबार रातिदेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा चन्द्रनगर गाउँपालिकासहित आसपासका बासिन्दा प्रभावित भएका थिए। दैनिक जीवन, व्यापार, तथा अन्य सेवा–सुविधामा समस्या परेको स्थानीयको गुनासो छ।

सेवाग्राहीहरूका अनुसार समस्या समाधानका लागि पटक–पटक सम्बन्धित अधिकारीलाई फोन सम्पर्क गर्न खोजिए पनि कुनै प्रतिक्रिया प्राप्त भएको थिएन।

बिजुली सुचारु भएपछि उपभोक्ताहरूले केही राहत महशुस गरे पनि यस्ता समस्या दोहोरिरहँदा निराशा व्यक्त गरेका छन्। स्थानीय बासिन्दाहरूले विद्युत प्राधिकरणलाई दीर्घकालीन समाधान र जिम्मेवार व्यवस्था गर्न माग गरेका छन्।