सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रत्नपुरस्थित स्वास्थ्य चौकी किसनपुरको नव निर्मित भवन शनिबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोको अध्यक्षता तथा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वड अध्यक्ष रामईश्वर महतो, जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झा लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

मन्त्री सिंहले भवन उद्घाटन गर्दै गाउँस्तरमा स्वास्थ्य सेवा सहज र गुणस्तरीय बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नयाँ भवन निर्माणसँगै स्थानिय बासिन्दाले समयमै उपचार पाउने सुविधा हुने विश्वास व्यक्त गर्नुभयो।

वडा अध्यक्ष महतोले पुरानो भवनबाट स्वास्थ्य सेवा विस्तार गर्न असहज भएकाले अब नयाँ भवनबाट सेवा सञ्चालन हुने बताउँदै भवन निर्माणले आफूहरू निकै खुसी भएको उल्लेख गर्नुभयो। साथै उहाँले मधेश प्रदेश सरकारप्रति धन्यवाद ज्ञापन गर्नुभयो।   कार्यक्रममा सहभागी स्थानिय नेताहरुले मन्तव्य राखेका थिए ।