सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ स्थित रुपेश साहको पक्की घरमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ ।

मंगलबार दिउँसो प्राप्त विशेष सूचनाका आधारमा प्रहरी चौकी हरिपुर्वा सर्लाहीका प्र.स.नि. शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा ११ जना तथा ईलाका प्रहरी कार्यालय केशरगंजका प्र.नि. उमाकान्त जोशीको कमाण्डमा ११ जनाको संयुक्त टोली खटिएको थियो ।

घर खानतलासी गर्ने क्रममा छतमा लुकाइछिपाइ राखिएको २० केजी ३४० ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न घरधनी ४५ वर्षीय रुपेश साह र उनकी ३५ वर्षीया श्रीमती प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएको गाँजा तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।