आज भाद्र शुक्ल चतुर्थीका दिन सनातन धर्मावलम्बीले भगवान् गणेशको जन्मोत्सव श्रद्धा र भक्ति भावसहित मनाइरहेका छन् । शिव र पार्वतीका पुत्रका रूपमा यस दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

भगवान् गणेशलाई सबै काममा बिघ्न हटाउने अर्थात् विघ्नहर्ताका रूपमा पुजिन्छ । हिन्दु धर्ममा गरिने सम्पूर्ण पूजा–आराधनाको प्रारम्भ गणेशको स्मरण र पूजा गरेर गरिन्छ भन्ने धार्मिक परम्परा छ । सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गर्ने’ भनाइ पनि यही विश्वाससँग जोडिएको छ ।

गणेशका अनेकौँ नाम छन्— ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीमुख भएकाले गजानन, गणका स्वामी भएकाले गणपति, विघ्न हटाउने भएकाले विघ्ननाशक, देवप्रिय भएकाले सुरप्रिय र विनायक नामले समेत पुजिन्छन् ।