‎जनता समाजवादी पार्टी (जसपा) नेपालको सर्लाही जिल्ला एकताको प्रथम जिल्ला अधिवेशनको बन्द सत्रमा पार्टीभित्रै झडप हुँदा नेतासहित कार्यकर्ता घाइते भएका छन् । जसपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य संजय यादवको नेतृत्वमा आएको समूहले आक्रमण गरेपछि अधिवेशन स्थल तनावग्रस्त बनेको हो ।

‎निर्वाचन समितिले मनोनयन प्रक्रिया सकेर अन्तिम नामावली टाँस गर्ने तयारी भइरहेको बेला अचानक आक्रमण भएको हो । संजय यादव पक्षका रामविश्वास रायले फलामको कुर्सी प्रहार गर्दा निर्वाचन संयोजक ओमप्रकाश यादवको टाउको फुट्नुका साथै शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । त्यस्तै अध्यक्ष मण्डलका सदस्य मनोज यादव गम्भीर घाइते भएका छन् भने अर्का सदस्य रामपृत पासवान सामान्य घाइते भएका छन् ।

‎आक्रमणका क्रममा कार्यक्रमस्थल जानकी पार्टी प्यालेसमा रहेका कुर्सी, ड्यास, सोफा, राउटरलगायतका सामग्री तोडफोड भई क्षति पुगेको प्यालेसका सञ्चालक राजेश शर्माले जानकारी दिए । उनले भने, “नेता भएर पनि होटल र पार्टी प्यालेसमा तोडफोड गर्नु निन्दनीय छ । भोलि यस्ता कार्यक्रम गर्न कसले आफ्नो स्थल उपलब्ध गराउँछ ?”

‎घाइते संयोजक यादवले अधिवेशनका सम्पूर्ण प्रक्रिया अध्यक्ष मण्डलको निर्णयअनुसार अघि बढेको स्पष्ट पार्दै, “सहमति र विचार–विमर्शबाट समाधान गर्न सकिने विषयलाई गुण्डागर्दी शैलीमा आक्रमण गर्नु अत्यन्तै दुखद हो,” भने ।

‎त्यस्तै, अध्यक्ष मण्डलका सदस्य मनोज यादवले पनि घटनाप्रति आक्रोश व्यक्त गर्दै भने, “यदि असहमति थियो भने बैठकमार्फत निकास निकालिन्थ्यो । तर संजय यादवले सहमति र वार्ताको बाटो छाडेर यादवले गुण्डा चरित्र प्रदर्शन गरेका प्रष्ट छन् ।”