एक साताअघि ललितपुरको नख्खु कारागारबाट फरार भएका एक जना कैदीबन्दी सर्लाहीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–७, का ३० वर्षीय फिरोज मन्सुर रहेका छन् । मन्सुर कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

जेनजी आन्दोलनको क्रममा कारागारबाट कैदीबन्दी भाग्ने क्रममा मन्सुरी पनि फरार भएका थिए । उनी घरमा आएर लुकिछिपी बसिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले गएसाँझ नियन्त्रणमा लिएको हो ।

मन्सुरलाई बाँकी कैद सजाय भुक्तानका लागि आज कार्यालय खुलेपछि मलङ्गवा कारागार चलान गरिने सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।

जेनजी आन्दोलन हुँदा सर्लाहीको मलङ्गवा कारागारमा समेत आगजनी र तोडफोड गरी भित्र रहेका कैदीबन्दीहरु भाग्ने प्रयास गरेका थिए । तर तत्काल नेपाली सेनासहितका सुरक्षाकर्मी तैनाथ गरेर अवस्था सामान्य पारिएको थियो ।