मिडिया काउन्सिल मधेस प्रदेशद्वारा सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक एकदिने गोष्ठी सोमबार रौतहटको चन्द्रनिगाहपुरस्थित होटल गौतममा सम्पन्न भएको छ।

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवको अध्यक्षता तथा प्रदेश सभा सदस्य युवराज भट्टराईको प्रमुख आतिथ्यमा गोष्ठी सम्पन्न भएको हो।

गोष्ठीमा मिडिया काउन्सिलका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जरा, काउन्सिल सदस्यहरू रिंकु मिश्र (गायत्री), बन्दना झा र मन्नु पासमानको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर र रौतहटका अध्यक्ष संजय कार्की अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य युवराज भट्टराईले हाल पत्रकारिता र राजनीति दुवै क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै पत्रकारिताका लागि स्पष्ट मापदण्ड आवश्यक रहेको बताए। उनले प्रदेश सरकारसँग आवश्यक नीति निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

गोष्ठीमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर र रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले कार्यपत्र प्रस्तुत गरेका थिए। सञ्चारमाध्यमको अवस्था र चुनौती विषयमा पत्रकारहरूले आर्थिक व्यवस्थापनदेखि पत्रकारिता सुधारसम्मका विषयमा आफ्ना सुझावहरू प्रस्तुत गर्दै मिडिया काउन्सिल र पत्रकार महासंघसँग सहकार्य आवश्यक रहेको धारणा राखे।

मिडिया काउन्सिलले मधेस प्रदेशमा सञ्चारमाध्यमको अनुगमन, शुद्धीकरण तथा पत्रकारलाई सम्मान गर्ने उद्देश्यसहित विभिन्न योजनाअनुसार काम सुरु गरिसकेको जनाएको छ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मिडिया काउन्सिलले प्रदेशका सबै जिल्लामा गोष्ठी गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा कार्यक्रम सम्पन्न भइसकेको र रौतहट छैठौँ जिल्ला भएको जनाइएको छ।

काउन्सिलकी सदस्य बन्दना झाले बारा र पर्सामा बुधबार गोष्ठी आयोजना गरिने जानकारी दिइन्।