जनकपुर । जानकी चौकीबाट केही मिटरकै दूरीमा रहेको माछा बजार नजिकै हुण्डिकारोबारमा संलग्न एक अभियुक्तलाई मधेश प्रदेशको विशेष टोली र जिरोमाईल प्रहरी चौकीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने व्यक्ति महोत्तरीको एकडारा गाउँपालिका–४ निवासी ३५ वर्षीय रन्जित कुमार शाह हुन् । उनी हाल माछा बजार नजिक किरण देबि ठाकुरको घरमा डेरा गरी बस्दै आएका थिए । शाहलाई मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष टोली र प्रहरी चौकी जिरोमाईल को संयुक्त अपरेशनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जानकी चौकीका इन्चार्ज सागर राणा रहेका छन् । राणाको विषयमा केही दिनअघि हुण्डी कारोबारलाई संरक्षण दिएर अवैध आर्थिक गतिविधि सञ्चालन गराइरहेको आरोपसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएका थिए । सोही कार्यक्षेत्रमै हुण्डिकारोबारका अभियुक्त पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ ।

पक्राउ परेका शाहमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।