सर्लाहीको नवलपुर चोकमा स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्गमा गरेको चक्काजाम चार घण्टापछि खुलेको छ ।

नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत लालबन्दी नगरपालिका–२ मा रहेको लर्डब्राइड वीजडम स्कुल अगाडि दुई हप्ताअघि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकको परिवारले कुनै राहत नपाएको भन्दै गाउँलेले आज पूर्वपश्चिम राजमार्गमा टायर बालेर चक्काजाम गरेका हुन् । आज दिउँसो १ः३० बजेदेखि सुरु भएको चक्काजाम साँझ ५ बजेतिर खुलेको हो ।

चक्काजाम खुलेसँगै चार घण्टासम्म रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पुस ११ गते सदरमुकाम मलंगवातर्फ जाँदै गरेको ना. ७ ख ७३६९ नम्वरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार लालबन्दी २ का ६० वर्षीय मेन्दु दोर्जे लोप्चनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना भएको यत्तिका दिनसम्म ट्रकधनी मृतकको परिवारसँग सम्पर्कमै नआएको र राहत रकम पनि नपाएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गमा निस्किएर चक्काजाम गरेका हुन् । अवस्था तनावग्रस्त बनेपछि नवलपुर चोकमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार दुर्घटनापछि ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमै रहेका छन् ।

मृतकको परिवारले कानून बमोजिम प्राप्त गर्ने रकमका लागि ट्रकधनीसँग पनि समन्वय गरिरहेको लालबन्दी प्रहरीले जनाएको छ ।