सर्लाही सदरमुकाम मलंगवामा हातीपाइले रोगविरुद्ध सञ्चालन हुने आम औषधि सेवन अभियान सम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका डा. शशि बडेल, सौरभ बगाले लगायत जिल्लाका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख झाले हातीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान जिल्लाका १२ वटा पालिकामा सुरु भइसकेको जानकारी दिनुभयो। यस वर्ष ४ लाख ३० हजार ९ सय ४१ जनालाई लक्षित गरी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा डा. बडेलले हातीपाइले रोगका लक्षण, विश्वव्यापी अवस्था तथा औषधिको प्रयोग र प्रभावकारिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार सर्लाही ‘ख’ अन्तर्गतका १२ वटा पालिकामा कुल जनसंख्याको कम्तीमा ८० प्रतिशतलाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ।

बुधबार मलंगवा नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय सर्लाहीका मनोज झाले गर्नुभएको थियो।