सर्लाही, जेठ १ – सर्लाही सदरमुकाम मलंगवामा सञ्चालनमा रहेको कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिकमा अनुगमनका क्रममा कागजात जाँचलाई लिएर विवाद भएपछि क्लिनिकमा तालाबन्दी गरिएको छ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अजय साह नेतृत्वको अनुगमन टोली र क्लिनिक सञ्चालक नरेन्द्र महतो सुढीबीच कागजात चेकजाँचका क्रममा भनाभन तथा विवाद भएको जनाइएको छ। त्यसपछि क्लिनिक पक्षबाट असहयोग र दुर्व्यवहार भएको भन्दै टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएको र प्रशासनको समन्वयमा तत्काल तालाबन्दी गरी कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

अनुगमन टोलीका अनुसार उक्त क्लिनिकमा विगत ७–८ वर्षदेखि चिकित्सक अनुपस्थित रहेको पाइएको छ भने जिम्मेवारीभन्दा बाहिर गई अवैध उपचार सेवा सञ्चालन गरेको आरोप समेत लगाइएको छ।

टोलीले मलंगवा नगरपालिका क्षेत्रका अन्य डेन्टल क्लिनिकहरूको समेत अनुगमन गरेको जनाएको छ। सो क्रममा शितल डेन्टल क्लिनिक (मलंगवा–८), गोपाल डेन्टल क्लिनिक (मलंगवा–१०) र सागर गौरी डेन्टल क्लिनिक (मलंगवा–९) सञ्चालनमा रहेको भेटिए पनि स्माइलसहित केही क्लिनिकहरू सटर बन्द गरी सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ।

अनुगमन टोलीले दर्ता बिना सञ्चालनमा रहेका क्लिनिकहरूलाई कानुनी प्रक्रिया पूरा गरी योग्य चिकित्सकसहित सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

त्यस्तै, कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिकमा प्रदेश स्वास्थ्य मन्त्रालयको अनुमति तथा विशेषज्ञ चिकित्सकको मापदण्ड पूरा नगरी केवल मलंगवा नगरपालिकाको अनुमति लिएर दन्त तथा भिडियो एक्सरे सेवा सञ्चालन गरिएको पाइएको टोलीले जनाएको छ।

अनुगमनका क्रममा दन्त चिकित्सक डा. अभियोग अधिकारी विगत ५–७ वर्षदेखि युकेमा रहेको भए पनि उनको नाम प्रयोग गरी क्लिनिक सञ्चालन भइरहेको पाइएको दाबी गरिएको छ।यस्तै रेडियोलोजिस्ट डा. प्रमोद कुमार साह कार्यरत रहेको भनिए पनि उनी बिना नै महिलाहरूको भिडियो एक्सरे सेवा सञ्चालन भइरहेको पाइएको अनुगमन टोलीको निष्कर्ष छ।