सर्लाही – पर्सा गाउँपालिकाका विभिन्न विद्यालयहरूमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह, २०८३ अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

World Vision International Nepal को आर्थिक सहयोग, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) को सहकार्य तथा पर्सा गाउँपालिकाको समन्वयमा सञ्चालित “बालसमृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालय स्वास्थ्य शिक्षा, पोषण कर्नर स्थापना, अस्वस्थकर खानाको सेवन न्यूनीकरण सम्बन्धी सचेतना, पोषणयुक्त विविध खाद्यपदार्थ सम्बन्धी अभिमुखीकरण, रक्तअल्पता (एनिमिया) रोकथाम सम्बन्धी जनचेतना, सरसफाइ प्रवर्द्धन तथा स्वस्थ जीवनशैली सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा बागमती सेवा समाज नेपाल (BWSN) र आरआरपीकेका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको छ। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्य ज्ञान, व्यवहार तथा समग्र पोषण अवस्थामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्य, पोषण, सरसफाइ तथा रक्तअल्पता रोकथाम सम्बन्धी व्यवहारिक ज्ञान अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। साथै विद्यालयहरूमा स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खाद्य पदार्थको प्रवर्द्धन गर्दै ‘जंक फुड शून्य’ वातावरण सुनिश्चित गर्ने लक्ष्य राखिएको नितिश कुमार सिंहले जानकारी  दिनुभएको हो।