सर्लाहीमा बाख्रापाठालाई पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउन सुरु गरिएको छ ।

भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलङ्गवाले जिल्लाको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाबाट हिजोदेखि पिपिआर रोगविरुद्धको निःशुल्क खोप अभियान प्रारम्भ गरेको हो । सर्लाहीमा करिव दुई लाख बाख्रापाठालाई पिपिआर तथा अन्य रोगविरुद्धको खोप लगाउने तयारी रहेको पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका प्रमुख उपेन्द्र सिंहले दिए । उनका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका २० वटै पालिकामा पशु स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायतका लक्षण देखिन्छ । यो लक्षण देखिएको एक सातामै बाख्रापाठा मर्ने गरेका छन् । पिपिआरको महामारी फैलँदा पशुपालक किसानलाई ठूलो क्षति पुुग्ने भएकाले सङ्घ तथा प्रदेश सरकार र स्थानीय तहको समन्वयमा खोप कार्यक्रम सञ्चालन गरिएको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलङ्गवाले जनायो ।

बाख्रापाठालाई पिपिआर लागेपछि बचाउन गाह्रो पर्ने भएकाले आफ्नो गाउँठाउँमा आउने स्वास्थ्यकर्मीबाट आफूले पालेका बाख्रापाठालाई खोप लगाउन पशु सेवा विज्ञ केन्द्र मलङ्गवाका भेटेरिनरी अधिकृत श्यामसुन्दर यादवले आग्रह गरेका छन् ।