सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा रहेको रामऔतार लक्षिया माध्यमिक विद्यालयमा आज सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा विद्यालयको सामाजिक लेखा परीक्षण (सोसल अडिट) सम्पन्न भएको हो । कार्यक्रममा हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापा, नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर राय, जग्गादाता जर्गनाथ साहलगायतको आतिथ्यता रहेको थियो । सोही कार्यक्रममा विद्यालयबाट नेपाली सेनाले प्रदान गरेको एनसीसी क्याडेट तालिममा सहभागी छात्राछात्रलाई सम्मान समेत गरिएको छ । गएको असार १४ गतेदेखि पुस २६ गतेसम्म मोरङको याङशीला संचालन भएको तालिममा विद्यालयका विद्यार्थी सहभागी रहेका थिए । सो तालिममा १० जिल्लाबाट सहभागी १५ वटा विद्यालयका विद्यार्थीमध्ये एस यू ओ तर्फ हजारबिघा माविका शिव यादव प्रथम भएका छन् ।

यस्तै एनसिसी तालिममै भएको फुटबल प्रतियोगितामा पनि विद्यालय प्रथम भएको एनसीसी क्याडेट तालिमका समन्वयकर्ता शिक्षक टेकबहादुर थापा (अर्जुन) ले बताए ।